
परिचय
नेपाली भाषा प्रयोग गर्ने र नेपाली साहित्यको अध्ययन गर्ने हाम्रो संख्या विश्वमा जति न्यून भए पनि हामी हाम्रो भाषा र साहित्य प्रति ठूलो गर्व गर्दछौं । बास्तवमै पनि नेपाली साहित्यको स्तर विश्वको कुनेै पनि मुलुकको साहित्यको स्तरभन्दा फितलो नभएको कुरा हाम्रा विद्धान समालोचकहरु भन्ने गर्दछन् । हाम्रो देशमा महान स्रष्टाहरुको जन्म भएको छ, महान कृतिहरु लेखिएका छन् । तथापी भाषाको कारणले हाम्रा स्रष्टा र साहित्य विश्व साहित्यको रंगमञ्चमा पर्दा पछाडी कुँजिएर रहेको चित्र स्पष्ट देख्न सकिन्छ । आज संसारै एउटा घर भई सकेको परिवेश र संचारको चरम सुविधा सम्पन्न यो अत्याधुनिक युगमा पनि हाम्रो भाषा, साहित्य र कलाले जसरी पखेट फिँजाएर उड्न सक्नु पथ्र्यो त्यो गर्न नसकेको संभवतः सबैले महशुश गरेको यथार्थ हो ।
नेपाली भाषा र साहित्यको संरक्षण र सम्बद्र्धनका लागि नेपालीहरुले मुलुक भित्र बसेर मात्र होईन मुलुक बाहिर रहेर पनि अद्धितीय प्रयासहरु गरिरहेका छन् । ती मध्ये भारतमा बसेका नेपालीहरुले गरेको योगदानले नेपाली भाषा र साहित्यको जगलाई मजबुत बनाउने काममा नै अहं भूमिका निर्वाह गरेको इतिहासले बताउँछ । भारतीय नेपालीहरुको लगनशीलताले त नेपाली भाषालाई संबैधानिक मान्यता दिलाउनमा नै सफलता प्राप्त गर्यो । यो सफलता आज भारतीय नेपालीहरुको लागि मात्र नभएर नेपाली भाषा बोल्ने हरेक नेपालीको लागि गौरवको विषय बनेको छ । बास्तवमा नेपाली भाषा र साहित्यको समृद्धिका लागि भारतको विभिन्न भूभागमा बसोबास गरिरहेका नेपालीहरुले गरिरहेको प्रयास ज्यादै नै स्तुत्य छ । त्यसैले त्यस्ता प्रयासहरु नेपाली वाड्मयको इतिहासमा प्रेरणदायी दस्ताबेजको रुपमा उल्लेखित छन् ।
समयको प्रवाहसंगसंगै आज नेपालीहरु छिमेकी मुलुक भारतमा मात्र नभएर विश्वको हरेक कुना कुनामा प्रवाहित भई रहेका छन् । कतिपय ठाउँहरुमा त नेपालीहरु नेपाललाई नै चिहाउन मिल्ने एउटा सानो नेपाल नै बनाएर एक आपसमा जुटेर बसेको आज हामी सुन्ने, देख्ने गर्दछौं । ती मध्ये उत्तर अमेरिका आजभोली विशेष चर्चित छ । विभिन्न कारण र विभिन्न उद्धेश्य लिएर उत्तर अमेरिका आउने र यहीँ नै आफ्नो कर्मभूमि बनाएर बस्ने नेपालीहरुको संख्या अचेल दिन प्रति दिन बढ्दै छ । यो बढ्दो माहौेलमा विभिन्न किसिमका व्यक्तित्व लिएका नेपालीहरुसंगै भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा स्थापित भइसकेका सर्जक साधकहरु एवं यस विधालाई माया गर्ने, मोह गर्ने र यस विधाको संरक्षण र सम्बद्र्धनका लागि उत्सगृत हुन चाहनेहरुको भीड पनि दिनानु दिन बढ्ैछ । देशबाट विछोडिए पछि परदेशमा स्वभावतः देशको भाषा, साहित्य र संस्कृतिप्रति मानिसहरु संबेदनशील हुन्छन् । त्यस माथि यहाँ खुलेका अनेकौ साहित्यिक एवं समाजिक संघ संस्थाहरुले सृजना गरेको बाताबरणको कारण अझ गहिरो किसिमले यो चेतना यहाँका नेपालीहरुमा झाँगिएको देख्न पाईन्छ । यसका लागि ती सबै संघ संस्थाहरु बधाईका पात्र छन् । यो सकारात्मक बाताबरणलाई हामीले ठोस उपलब्धीका रुपमा निर्णित गर्न सक्यौ भने त्यो हाम्रो लागि मात्र होईन हामीले माया गर्ने हाम्रो देशकै लागि ठूलो उपलब्धी हुन सक्दछ । भाषा र साहित्यको लागि मरिमेट्ने यति धेरै जोशहरु विश्वकै समृद्ध भूभाग उत्तर अमेरिकामा भएको यो समयलाई नचुकाउन र हाम्रो उपस्थिति यस क्षण यहाँ रहेको अनुभूतिलाई चिरन्तन बनाउन हामीले दीर्घकालिन योजनाहरु बनाउन जरुरी छ । ससाना साहित्यिक गोष्ठी, सम्मान र पुरस्कारका कार्यक्रमहरु त भई नै रहन्छन् । यो निरन्तर चलिरहने प्रकृया हो । तर यसको अलाबा हामीले नेपाली साहित्यलाई विश्व साहित्यमा उजिल्याउन फरक र प्रभावकारी बाटो समाउन नितान्त आबश्यक भई सकेको छ । हामीले यहाँ गरेको सानो सामुहिक प्रयाश पनि नेपालको लागि ठूलो सावित हुन सक्दछ । त्यसैले नेपाली भाषा र साहित्यको इतिहासमा नै एउटा अद्धितीय फड्को मार्न सक्ने उपलब्धीहरु हासिल गर्ने महान उद्धेश्य लिएर हामीले ‘दि एकेडेमी अफ नेपाली लिटेरेचर, अमेरिका’ नामक नयाँ संस्थाको स्थापना गरेका छौं ।
उत्तर अमेरिकामा रहेका नेपालीहरुको हित र समृद्धीका लागि स्थानीय स्तरमा अनेकौं संघ सस्थाहरु स्थापना भई सक्रिय रहेका छन् । ती संस्थाहरुको प्लाटफोर्म संस्थाको रुपमा संचालित एउटा पूरानो संस्था हो दि एशोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए) । यसले आफ्नो स्थापनाको २७ औं बर्ष पार गरिसकेको छ र यस अबधिमा यसले आफ्नो विशिष्ट पहिचान पनि बनाईसकेको छ । हालै सम्पन्न निर्वाचनबाट चुनिएर आएका यसका नयाँ कार्य समितिले यसलाई विविध विधामा छुटै निकायहरु गठन गरि थप क्रियाशील बनाउने योजना तर्जुमा गरेको छ । त्यसै अन्तर्गत स्थापना गरिएको हो यो ‘दि एकेडेमी अफ नेपाली लिटेरेचर, अमेरिका’ । यो ए एन ए संग प्रत्यक्ष आबद्ध भए पनि एउटा स्वायक्त संस्थाको रुपमा कृयाशील रहने छ र यसको आफ्नै विधान हुनेछ । ए एन ए नेपाली भाषा र साहित्यको निम्ती अथक काम गर्दै आएको पार्टनर संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज सँगको वार्षिकी कार्यक्रम यथावत राखी उस्ले गरेको प्रयासमा नौलो आयम थप्न गइ रहेको छ। यो संस्था ए एन ए को मूल लक्ष्यलाई हृदयगंम गरी नेपाली भषा र साहित्य तर्फको उद्धेश्य परिपूर्तिका लागि सक्रिय हुनेछ ।
प्रकासन
Audio Play List
उपयोगी वेवपृष्ठहरु
Copyright © 2009, All Rights Reserved